आयोडिनयुक्त नुन दैनिकरुपमा सेवन गर्दा शरीर स्वस्थ र तन्दुरुस्त बारपाकमा आयोडिनयुक्त नुन सचेतना
आर्थिक सञ्जाल । सोमबार, १२ फागुन २०७६
पोखरा । साल्ट ट्रेडिङ कर्पोरेशन पोखरा कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत गोरखाको बारपाकमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिने लगायतका प्रचार सामग्री सहित सचेतना कार्यक्रम सम्पन्न गरिएको उक्त कार्यालयले जनाएको छ । सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेट सहितका सामग्री प्रदान गरिएको थियो ।
सो सामग्री वितरण गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिन युक्त नुन दैनिक रुपमा सेवन गर्नुपर्ने बताउँदै शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने बताए । केन्द्रको कार्यक्रम अनुसार देशका सबै विकट गाउँमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रम अन्तर्गत विद्यार्थीले बारपाक वरपर सचेतनामूलक प्लेकार्ड सहित यसको उपयोगिता बारे जानकारी गराएका थिए ।
उक्त अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भुषण उपाध्याय, विद्यालयका प्रधानाध्यापक जैनबहादुर घले, मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोला लगायतले आयोडिन युक्त नुनले स्वास्थ्यमा पु¥याउने फाइदा माथि प्रकाश पारेका थिए ।