मेलम्चीको पानी असारभित्रै सुन्दरीजलमा
२०७६ फागुन १ गते काठमाडौं । खानेपानी मन्त्री बीना मगरले असारभित्रै मेलम्चीको पानी काठमाडौं आइपुग्ने बताएकी छन् । बिहिबार मन्त्रालयले स्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्ने बताएको छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ असार मसान्त भित्रै सुरुङ परीक्षण र सञ्चालनको काम सम्पन्न हुने मन्त्री मगरको जिकिर छ ।
मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पनि मुख्य र सहायक ड्याम निर्माण तथा सुरुङको फिनिसिङ लगायतको काम निर्धारित भन्दा २/३ महिना पहिल्यै सकिने विश्वास व्यक्त गरेका छन ।
इटालीयन कम्पनी सीएमसी बीचैमा काम छाडेर भागेपछि आयोजनाको बाँकी काम आगामी असोजभित्र सक्न चीनको सिनो हाइड्रोसँग गत वर्ष ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत भइसकेको कार्यकारी निर्देशक खत्रीको दाबी रहेको छ ।