stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको वि.सं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो ।

वि.सं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

वि.सं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो ।

काठमाडौँको खानदानी परिवारमा जन्मनु भएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँ लगायतलाई तत्कालीन सरकारले जेल हालेको थियो ।

वि.सं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनु भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो ।

नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । वि.सं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनु भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि ८ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल गृहमा कारावास जीवन बिताउनुभयो ।

वि.सं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । वि.सं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठ वटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो ।

विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायत विरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो ।

नेता सिंहको २३ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चल गायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण प्राय सबैजसो कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।।

prabhu mahalaxmi
kumari