प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय महासभालाई भर्चुअल सम्बोधन गर्ने
काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले पनि अप्रत्यक्ष रूपमा सहभागी हुने भएको छ । महासभालाई प्रधानमन्त्री ओलीले आगामी सोमबार नेपालबाटै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै प्रधानमन्त्री ओलीले भोलि शनिबार दिगो विकास लक्ष्य दुइ हजार २० र असोज १४ गते जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने बैठक र अल्पविकसित राष्ट्र र भूपरिवेष्ठित विकासोन्मूख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
महासभाकै समयमा हुँदै आएको सार्क मन्त्रिपरिषद्को भर्चुअल बैठक नेपालले यही असोज ८ गते आयोजना गर्दैछ । महासभा अन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् । यो वर्षको महासभाको कोरोना भाइरसको सामना लगायतका विषय प्राथमिकतामा रहेका छन ।























