stcnepal long ad
nabil bank
macchha(MBL)

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्

Nimb long ad
Prabhu Insurance Long Ad

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आउनुभयो । बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बस्नु भएका उहाँले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउनुभएन ।

“मल पाइने आशमा दिनभर लाइनमा बस्यौ, तर पाइएन,” उहाँले भन्नुभयो, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उहाँले गुनासो गर्नुभयो । उहाँले कसैले ३५–४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताउनुभयो ।

कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बस्नुभयो । दिनभर लाइनमा बस्दा पनि उहाँले मल पाउनुभएन । “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भन्नुभयो, “भोलि पनि आएर पाउने निश्चित छैन ।”

केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नु परेपनि नपाएको उहाँको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भन्नुभयो, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।”

उहाँलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने रु,” उहाँले प्रश्न गर्नुभयो ।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनु परेको बताउनुभयो । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उहाँको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताउनुभयो ।

“भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उहाँले भन्नुभयो ।

दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे ।

प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङ मार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।”

प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् । त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन । रासस

 

prabhu mahalaxmi
kumari