मणिपाल अस्पतालको आईसीयू कक्ष सिल, २२ जना कर्मचारी आइसोलेसनमा

आर्थिक सञ्जाल
पोखरा । गण्डकी प्रदेशमा आज थप ३७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जामा २२, पर्वतमा १३, तनहुँ र नवलपरासीमा एक–एक जना संक्रमित थपिएका हुन ।
पर्वतको कुश्मा नगरपालिकाका १९ देखि ४५ बर्ष उमेरका आठ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना पोखराको मणिपाल अस्पतालमा उपचार गराइरहेका ३५ बर्षिय पुरुष हुन् ।
अहिले अस्पतालको आईसीयू कक्ष सिल गरिएको छ । एक जनामा संक्रमण भेटिएपछि अस्पतालमा कार्यरत २२ जना कार्मचारीलाई आईसोलेसनमा राखिएको छ । त्यस्तै स्याङ्जाको वालिङ नगरपालिकाका १८ देखि ६६ बर्षका १८ जनामा संक्रमण पुष्टि भएको छ । अर्जुनचौपारी गाउँपालिकाका ३ वर्षिय बालक र ठेगाना नखुलेका ४ बर्षिय बालकमा समेत कोरोना पुष्टि भएको छ ।
यस्तै तनहुँको घिरिङका १९ बर्षिय एक पुरुष र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ बर्षिय एक किशोरमा समेत कोरोना पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ । त्यसमध्ये १ जनाको मृत्यु भएको छ भने ११ जना निको भइ घर फर्किएका छन् ।