भाडादर पुनरवलोकन नहुँदा वायुसेवा कम्पनी आर्थिक मारमा छन् : वायुसेवा सञ्चालक संघ

काठमाडौं । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले भाडादर समय सापेक्ष नभएको र यसको पुनरवलोकन गर्न सरकारले नमानेका कारण वायुसेवा कम्पनी अत्यधिक आर्थिक मारमा परेको बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोनले वायुसेवा कम्पनीले हवाई भाडा महँगो लिएको भन्दै आएका समाचारमा ध्यानाकर्षण भएको भन्दै व्यवसायी आर्थिक मारमा परेको बताएको हो ।
हवाई इन्धन र वायुयानमा प्रयोग हुने पार्टपुर्जाको मूल्यमा भएको वृद्धि, अस्थिर डलर विनिमय दर, अर्थ मन्त्रालयले घोषणा गरेको मूल्य अभिवृद्धि कर, यात्रु सेवा शुल्क तथा विमानस्थल सेवा शुल्कमा भएको वृद्धिले वायुसेवा कम्पनी आर्थिक मारमा परेको आयोनको भनाइ छ ।
यसअघि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयमा डाकेको बैठकमा समेत सोही निष्कर्ष निकालिएको थियो । जनता मारमा परेको भन्दै बसेको बैठक व्यवसायी नै मारमा रहेको निष्कर्षसहित सकिएको थियो ।
पछिल्लो समय २०७३ सालमा भाडा पुनरवलोकन भएको र त्यसपछि हरेक २र२ वर्षमा भाडा पुनरवलोकन हुनु पर्नेमा नभएको भन्दै वायुसेवा कम्पनीहरुले गुनासो गरेका छन् ।
साविकमा ६/७ हजारमा समेत यात्रु उडाउन तयार हुने गन्तव्यको भाडा १७ हजारसम्म पुर्याएको बारे भने वायुसेवा कम्पनीले चाडबाडमा एकतर्फी यात्रु हुने भएकाले चर्को भाडा लिनु परेको बताउने गरेका छन् ।
३० असोज २०८०, मंगलवार १७:३० बजे प्रकाशित