आरएमडीसी लघुवित्तको नाफा ३५.५८५ बढ्यो
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३५.५८% ले वृद्धि भएको छ । यस लघुवित्तले नाफा वृद्धि गरी चैत मसान्तसम्म २० करोड ५३ लाख ३० हजार रुपैयाँ पुर्याएको हो ।
गत वर्षको सोही अवधिमा भने खुद नाफा १५ करोड १४ लाख ४९ हजार रुपैयाँ मात्र थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेपछि खुद नाफामा पनि सुधार भएको हो ।
चैत मसान्तसम्ममा खुद ब्याज आम्दानी २४.९८% ले बढेर ३० करोड ६० लाख ३० हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि १५.६६% ले बढेर २७ करोड ४६ लाख ३ हजार रुपैयाँ भएको छ । साथै, चैत मसान्तसम्म ५ करोड १३ लाख १७ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेका कारण पनि खुद नाफामा वृद्धि भएको देखिन्छ । यसको खराब कर्जा ०.०५% रहेको छ । कस्ट अफ फन्ड ४.४८% छ ।
आरएमडीसी लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार रुपैयाँ छ । रिजर्भ कोषमा १ अर्ब ७१ करोड ९५ लाख ८३ हजार रुपैयाँ जम्मा भएको छ । यस लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा वार्षिक र प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ २७ पैसा छ ।
आरएमडीसीको लगानी मौज्दात, आम्दानी तथा तरलताको अवस्था राम्रो रहेको व्यवस्थापनले जनाएको छ । नयाँ साझेदार संस्थाहरु पहिचान गरी सेवा विस्तार गर्ने संस्थाले योजना बनाएको छ ।























