जीवन विकास लघुवित्त वित्तीय संस्थाको पुस २८ गते वार्षिक साधारण सभा
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा यस लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय, कटहरी–२, मोरङमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
साधारण सभामा लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । साधारण सभामा संस्थापक समूहको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्दैछ । तसर्थ, पुस १५ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।