stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

खानेतेल (भटमास र सूर्यमुखी) को मूल्य अस्वाभाविक बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । खानेतेल (भटमास र सूर्यमुखी) को भाउ अस्वाभाविक रूपमा बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो ।

माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपियाँ खुद्रामा बिक्री भइरहेको खानेतेल अहिले प्रतिलिटर २८५ देखि २९० रुपियाँसम्म पुगेको छ ।

सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले खानेतेलको भाउ अस्वाभाविक रूपमा बढेकाले कारोबार गर्न नै समस्या रहेको गुनासो गर्नुभयो । ससानो पुँजी लगानी गरेर आमउपोक्ताको घरछेउसम्म सेवा दिने हामी व्यवसायीले दिनदिनै भाउ बढ्यो भनेर उपभोक्तासँग कसरी कारोबार गर्ने ? उहाँले प्रतिप्रश्न गर्नुभयो ।

सो सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्गीले अस्वाभाविक रूपमा दिनैपिच्छे भाउ बढ्दा व्यवसायी दोहोरो मारमा परेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “खुद्रा व्यापारीले थोकमा किन्दा बढेको भाउ तिरेर ल्याउनु पर्छ, यता उपभोक्ता महँगो भयो भनेर गुनासो गर्छन् अनि अर्कातिर सरकारी नियमनकारी निकायले हाम्रै पसलमा अनुगमन गरेर कारबाही गर्छ ।”

त्यसैले गर्दा खुद्रा व्यापारी थोक व्यापारी, उपभोक्ता र सरकारको अनुगमनको तगारो भएर काम गर्नु परेको वरिष्ठ उपाध्यक्ष खड्गीले बताउनुुभयो ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपालमा तेल उत्पादन उद्योगले नेपालका लागि उत्पादन गरेको तेल भारतमा पठाउन थालेपछि भाउ बढेको बताउनुभयो । उहाँको अनुभवमा जब भारतमा खानेतेल महँगो भयो, तब नेपालका तेल उत्पादक उद्योगीले भटाभट भारतमा निर्यात गर्न थाले ।

खुला बजार अर्थतन्त्रमा तेलको सीमित उत्पादन भइरहेको अवस्थामा माग बढेपछि मूल्य बढ्नुलाई अस्वाभाविक मान्न नहुने तर्क थोक व्यापारी श्रेष्ठको छ ।

नेपालका खानेतेल उत्पादक उद्योगीले अमेरिकी डलरको भाउ बढ्दा कच्चा पदार्थको भाउ बढेको र जसका कारणले खानेतेलको भाउ बढेको स्वीकार गरेका छन् । कच्चा पदार्थको भाउ नै बढेपछि तेलको भाउ बढ्नुलाई अस्वाभाविक रूपमा लिन नमिल्ने तर्क उद्योगीले गरेका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा नेपालबाट ६० अर्ब रुपियाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ ।

नेपालमा पर्याप्त तेल उत्पादन हुँदाहुँदै पनि उद्योगीले तेल भारत निर्यात गरेको हुँदा महँगीको मारमा नेपाली उपभोक्ता परेको अधिकारकर्मी बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले नेपालका तेल उद्योगीले डलर र कच्चा पदार्थको बहानामा तेलको भाउ  बढाउँदा  सरकारका नियमनकारी निकाय मुकदर्शक बनेको टिप्पणी गर्नुभयो । कच्चा पदार्थको भाउ बढ्ने हल्ला हुनेबित्तिकै नेपालमा तेलको भाउ बढाउनु उद्योगीको बदमासी भएको तर्क उहाँको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले खानेतेलको मूल्य बढेको भन्ने गुनासोका आधारमा बजार अनुगमन भइरहेको र यसको कारणबारे बुझ्न तेल उत्पादक उद्योगीलाई विभागमा उपस्थिति हुन पत्राचार भएको जानकारी दिनुभयो ।

अनुगमनका क्रममा कच्चा पदार्थ महँगो भएर मूल्य बढेको भन्ने कुरा आएको छ तर दिनदिनै भाउ बढ्नुलाई स्वाभाविक रूपमा लिन नसिकएकाले उद्योगीलाई पत्राचार गरेको उहाँले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari