चार हजार रुपैयाँले सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन उच्च रकमले वृद्धि भएको छ । आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलामै चार हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बुधबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँ थियो । बिहीबार भने होली पर्वका कारण सुनचाँदी बजार बन्द थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबारको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर चाँदी आज प्रतितोला दुई हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला दुई हजार रुपैयाँ थियो ।

























