वाइवाई चाउचाउ उत्पादक सीजी फुड्सको व्यापार ९ अर्ब ११ करोड

काठमाडौं । सीजी फुड्स (नेपाल) लिमिटेडले सन् २०२३ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा १३.७३ प्रतिशत धेरै हो ।
सन् २०२२ मा यसले ८ अर्ब १ करोड र सन् २०२१ मा ७ अर्ब २३ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब १४ करोड रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले जनाएको छ ।
सीजी फुड्सले इन्स्ट्यान्ट चाउचाउ, पेय पदार्थ, स्न्याक्स आदि उत्पादन गर्दछ । थाइल्याण्डको कम्पनीसँगको सहकार्यमा यसले सन् १९८४ काठमाडौंमा पहिलो कारखाना सञ्चालन गरेको हो ।
यसले ‘रियो’, ‘क्विक्स’ र यसको प्रमुख ब्रान्ड ‘वाइवाई’ नुडल्स उत्पादन गर्छ । सीजी फुड्स चौधरी ग्रुप अन्तर्गतको एकाइ हो ।