stcnepal long ad
ime life insurance
national life
global ime bank long

अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । जेनजी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तरराष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवद्र्धनलाई तीव्रता दिएको छ । जेनजी प्रदर्शनपछि अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचारप्रचारका लागि बोर्डले प्रवद्र्धनका कार्यक्रमलाई अघि बढाएको हो ।

सोही क्रममा बोर्डले जेनजी प्रदर्शनपछि पहिलो पटक यही असोज २ देखि ४ गतेसम्म बङ्गालदेशको राजधानी ढाकामा आयोजित १२औँ एसियन पर्यटन मेलामा सहभागी भइ नेपाल विदेशी पर्यटक स्वागतका लागि पूर्ण रुपमा तयार रहेको सन्देश दिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले प्रदर्शनका कारण पर्यटन क्षेत्रमा केही क्षति भए पनि ठूलो प्रभाव नपरेको उल्लेख गर्नुभयो । “प्रदर्शनपछि पर्यटन बजार सामान्य अवस्थामा फर्किएको छ, यो सन्देश हामीले अन्तरराष्ट्रिय स्रोत बजारमा पु¥याउनुछ, सोही क्रममा बङ्गलादेशमा पर्यटन प्रवद्र्धन गरेका हौँ”, उहाँले भन्नुभयो ।

बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले मेलाको उद्घाटनका अवसरमा नेपालको पर्यटन क्षेत्र विभिन्न चुनौतीबीच पनि छिटो पुनःरुत्थान भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल–बङ्गलादेशबीचको पर्यटन सहकार्य र जनस्तरीय सम्बन्ध अझ मजबुत बनाउनु पहल भइरहेको दाबी गर्नुभयो । मेलामार्फत नेपाली कम्पनीहरूले नयाँ अवसरको पहिचान, पुराना सम्बन्धलाई नवीकरण गर्दै प्याकेज तथा सेवाहरू प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा बङ्गलादेशी आगन्तुकहरूले नेपालमा भएको जेनजी आन्दोलनपछिको अवस्थाबारे जिज्ञासा राखेका थिए । उनीहरूले बङ्गलादेशमा पनि विगत वर्षमा भएका राजनीतिक घटनाक्रमसँग तुलना गर्दै नेपाल भ्रमण गर्ने योजनामा कुनै असर नपरेको प्रतिक्रिया दिएका थिए ।

सन् २०२४ मा नेपालमा करिब ४९ हजार बङ्गलादेशी पर्यटक आएका थिए भने सन् २०२५ को पहिलो आठ महिनामै बङ्गलादेशी पर्यटक आगमनमा झन्डै ३२ प्रतिशत वृद्धि भएको पर्यटन बोर्डको भनाइ छ । भौगोलिक निकटता, समान जीवनशैली र बङ्गलादेशको बढ्दो आर्थिक क्षमताका कारण नेपाल उनीहरुका लागि प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने बोर्डको विश्वास छ ।

मुलुकको पर्यटन प्रवद्र्धनका लागि बोर्डसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सरोकारवालाले पनि पर्यटन पुनःरुत्थानका लागि सक्रियता देखाएको बोर्डको बुझाइ छ । “आन्तरिक गन्तव्यमा मात्रै नभइ अन्तरराष्ट्रिय पर्यटन स्रोत बजारमा पनि नेपालका पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देशसहित नेपाल भ्रमणका लागि आग्रह गरिएको छ”, सिइओ जोशीले भन्नुभयो ।

बोर्डले आफ्नो वेबसाइटमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमण गरिरहेका पर्यटकहरुलाई उनीहरुको अनुभव लाइभ गरेर प्रवद्र्धनात्मक गतिविधिलाई निरन्तरता दिएको छ । बोर्डले पवित्र धार्मिक तीर्थस्थल, साहसिक गन्तव्यलगायतबाट पर्यटकको अनुभवलाई भिडियोमार्फत सार्वजनिक गरिरहेको छ ।

सिइओ जोशीका अनुसार कूटनीतिक नियोग, गैरआवासीय नेपाली सङ्घलगायत माध्यमबाट अन्तरराष्ट्रिय स्रोत बजारमा नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । यसका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा), संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन लगायतसँग पनि सहकार्य गरिएको छ ।

IME Lifesidebar
kumari