सेयर बजारमा लगानी गर्ने राम्रो अवसर
काठमाडौं । पाँच दलीय गठबन्धन सरकार र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा अर्थ मन्त्री बनेपछि नेपाली सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । सेयर परिसूचांक नेप्से फेरि भारी अंकले घटेको छ ।
जेठ १८ गते बुधबार ७.१९ अंकले घटेको नेप्से जेठ १९ गते बिहीबार फेरि १८.२६ अंकले तल झरेको छ । नेप्से निरन्तर घट्दा शेयरमा लगानी गर्नेहरु निराश बन्दै गएका छन् भने नयाँ लगानीकर्ताहरूलाई सेयर खरिद गर्ने यो सुनौलो अवसर रहेको सेयर विश्लेषकहरूको भनाई छ।
बिहान बजार खुल्दा २१३० अंकबाट कारोबार सुरु भएको बजारको अन्तिममा २११२ अंकमा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४१० अंकमा पुगेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकम भने बढेको छ ।
बिहीबार नौ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा बिहीबार ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा बिहीबार दुई सय २७ कम्पनी सेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।
१२ कम्पनीको सेयर मूल्य हिजोकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा एक मात्र कम्पनी बाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरमा नकारात्मक सर्किट लागेको छ ।
सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १३ दशमलव ९ रुपैयाँले बढेर एक सय ५३ दशमलव ३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर मूल्यमा ३५ दशमलव ५ रुपैयाँले घटेर ३ सय २० रुपैयाँ पुगेको छ ।





















