सञ्चय कोषको सेयर बजारमा २१ अर्ब रुपैयाँ लगानी
काठमाडौं । कर्मचारी सञ्चय कोषले २०७६/७७ असार मसान्त सम्ममा २१ अर्ब १४ करोड ४१ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ ।
अघिल्लो वर्ष कोषले सेयर बजारमा २२ अर्ब ९७ करोड १० लाख रुपैयाँ लगानी गरेको थियो । सञ्चय कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा १ खर्ब ७ अर्ब ५२ करोड ८ लाख रुपैयाँ बचतका रुपमा राखेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कोषले ७८ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ राखेको थियो । कोषले नयाँ परियोजनामा लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा ठूलो रकम जम्मा गरेर राख्नुपरेको हो ।
कोषले सञ्चयकर्ताहरुलाई १ खर्ब ९१ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ कर्जा सापटी दिएको छ ।
अघिल्लो वर्ष १ खर्ब ८० अर्ब ५७ करोड ९२ लाख रुपैयाँ कर्जा सापटी दिएको थियो । कोषले सञ्चयकर्ताको ३ खर्ब ५० अर्ब ५९ करोड २४ लाख रुपैयाँ जम्मा गरेर राखेको छ । यो कोषको दायित्व रकम हो । अघिल्लो आर्थिक वर्षमा कोषले ३ खर्ब ९ अर्ब ८४ करोड ८४ लाख रुपैयाँ जम्मा गरेको थियो ।






















