stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इरानले धम्की दिएपछि ट्रम्पले फिर्ता बोलाए मध्यपूर्वमा खटिएका अमेरिकी सैनिक

Nimb long ad
Prabhu Insurance Long Ad
national life

इरानले आफूविरुद्ध सैन्य आक्रमण भए अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना प्रमुख सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ ।

इरानमा चर्किँदै गएको सरकारविरोधी प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार सैन्य कारबाहीको चेतावनी दिँदै आएका थिए । त्यसको प्रत्युत्तरमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डाहरूलाई निशाना बनाइने चेतावनी दिएका थिए ।

इरानी चेतावनीपछि अमेरिकाले कतार, बहराइन लगायतका देशहरूमा रहेका सैनिक अड्डाबाट केही कर्मचारी फिर्ता बोलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार कतारको अल उदैदस्थित अमेरिकी सैनिक अड्डाबाट राष्ट्रपति ट्रम्पको निर्देशनमा केही सैनिक कर्मचारी फिर्ता बोलाइसकिएको छ ।

कतारस्थित उक्त सैनिक अड्डा यसअघि पनि इरानको निशानामा परिसकेको थियो । गत जुन महिनामा अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा शक्तिशाली बम आक्रमण गरी ती संरचनाहरू ध्वस्त बनाएको थियो ।

त्यसको जवाफमा इरानले कतारमा रहेको अमेरिकी सैनिक अड्डामा हवाई आक्रमण गरेको थियो । यसपालि पनि इरानबाट सम्भावित आक्रमण हुन सक्ने आशंकामा कर्मचारी फिर्ता बोलाइएको सिएनएनले जनाएको छ ।

अमेरिकाले सैनिक कर्मचारी फिर्ता बोलाएपछि कतार सरकारले आफ्ना नागरिक र बासिन्दाको सुरक्षाका लागि आवश्यक सबै उपायहरू कार्यान्वयन गरिने जनाएको छ ।

यस कदमलाई अर्को कोणबाट पनि हेरिएको छ । ह्वाइट हाउसका केही अधिकारी र युरोपेली अधिकारीहरूले अमेरिकाले इरानमाथि सम्भावित आक्रमणको पूर्वतयारीस्वरूप मध्यपूर्वका सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाएको हुन सक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले युरोपेली दुई अधिकारीलाई उद्धृत गर्दै आगामी २४ घन्टाभित्र अमेरिकाले इरानमा हमला गर्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

रोयटर्सका अनुसार एक जना इसराइली अधिकारीले पनि राष्ट्रपति ट्रम्पले सैन्य आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन्, यद्यपि आक्रमणको दायरा र समयबारे स्पष्ट जानकारी छैन ।

यसैबीच, इरानमा पछिल्ला दुई सातादेखि जारी सरकारविरोधी प्रदर्शन अहिलेसम्मकै सबैभन्दा हिंसात्मक बन्दै गएको छ । सुरुमा आर्थिक संकटविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनहरूमा झनै उग्र बनेपछि मृत्यु हुनेको संख्या तीव्र रूपमा बढिरहेको छ ।

इरानी अधिकारीहरूका अनुसार १७ दिनमा दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने अमेरिकी मानवअधिकार संस्थाहरूले मृतकको संख्या २६ सय नाघेको दाबी गरेका छन् । यस अवधिमा १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी प्रदर्शनकारीको समर्थन गर्दै सैन्य कारबाहीको चेतावनी दिँदै आएका छन् । सुरुमा उनले प्रदर्शनकारीहरूको सुरक्षाका लागि हस्तक्षेप गर्ने बताएका थिए भने पछि गोली प्रहार नरोकिए इरानी नेतृत्वमाथि आक्रमण गरिने चेतावनी दिएका थिए ।

मंगलबार फेरि ट्रम्पले प्रदर्शन जारी राख्न आग्रह गर्दै “अमेरिकाबाट सहायता आउँदैछ” भनेका थिए, तर त्यस सहायता के हो भन्नेबारे स्पष्ट पारेका छैनन् ।

तनाव बढ्दै गएपछि इरानका विदेशमन्त्री अब्बास अराक्ची र ट्रम्पका मध्यपूर्व मामिला हेर्ने विशेष दूत स्टिभ विटकोफबीच हुने भनिएको संवाद पनि स्थगित गरिएको छ ।

यसैबीच अमेरिकाले आफ्ना नागरिकहरूलाई तत्काल इरान छाड्न निर्देशन दिएको छ । तेहरान हेर्ने ‘भर्चुअल’ अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै इरानमा जारी हिंसात्मक प्रदर्शन र सरकारी दमनका कारण अमेरिकी नागरिक असुरक्षित हुन सक्ने भन्दै देश छाड्न आग्रह गरेको हो ।

अमेरिकाले इरानमाथि दबाब बढाउने रणनीतिअन्तर्गत हालसालै इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार लगाउने घोषणा पनि गरेको छ । यद्यपि त्यसबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन र ह्वाइट हाउसले कार्यान्वयनबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

पश्चिमी अधिकारीहरूका अनुसार आन्दोलनले इरानी सरकारलाई केही कमजोर बनाएको भए पनि तत्काल सत्ता ढल्ने सम्भावना कम देखिन्छ ।

सुरक्षा संयन्त्र अझै सरकारकै नियन्त्रणमा रहेको र सरकारी पक्षधर सञ्चारमाध्यमहरूले सरकार समर्थक विशाल जुलुस र सभालाई प्राथमिकताका साथ प्रसारण गरिरहेको रोयटर्सले उल्लेख गरेको छ ।

इरानका राष्ट्रपति मसुद पेजेशकियानले जनसमर्थन कायम रहँदासम्म शत्रुको प्रयास असफल हुने दाबी गरेका छन् ।

prabhu mahalaxmi
kumari