stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सिरहाको गोसाइ डाँडा ताल : आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै

Nimb long ad
Prabhu Insurance Long Ad
national life

सिरहा । चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ ।

झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्या-पर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ ।

पानीमा देखिने दृश्य, चारैतिर फैलिएको हरियाली वन र तालमा डुङ्गा चढेर रमाइरहेका आन्तरिक पर्यटकहरूले झवाई खोल्सी क्षेत्रलाई अझ जीवन्त र आकर्षक बनाएको छ ।

पाँच वर्षअघि सामुदायिक वन उपभोक्ता समूहको पहलमा निर्माण गरिएको ‘गोसाइ डाँडा ताल’ अहिले लहान क्षेत्रकै प्रमुख आन्तरिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास हुँदै गएको झवाई खोल्सी चुरिया डाँडा सामुदायिक वनका अध्यक्ष लगनलाल चौधरी बताउनुहुन्छ ।

अध्यक्ष चौधरीका अनुसार हाल विशेषगरी शनिबार र सार्वजनिक बिदाका दिनमा यहाँ आन्तरिक पर्यटकको उल्लेख्य चहलपहल देखिन थालेको छ । “यस क्षेत्रको प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकको सङ्ख्या निरन्तर बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “यदि ताल क्षेत्रको थप सौन्दर्यीकरण गर्न सकियो, डुङ्गाको सङ्ख्या बढाइयो, बालबालिकाका लागि चिल्ड्रेन पार्क, पर्यटक विश्रामका लागि गोलघर तथा अन्य आवश्यक संरचना निर्माण तथा भएका संरचनाको स्तरोन्नति गर्न सकियो भने झवाई खोल्सीलाई निकट भविष्यमा मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना प्रबल छ ।”

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित यो ताल झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको छ । तालको चारैतिर रहेका साना–ठूला पोखरीहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अझै बढाएको छ । चुरे क्षेत्रको सिमसार क्षेत्रलाई संरक्षण गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले ताल निर्माण गरिएको हो ।

चुरे क्षेत्रमा भूमिगत पानीको सतह घट्दै गएको सन्दर्भमा गोसाइ डाँडा तालले महत्त्वपूर्ण भूमिका खेलेको छ । विशाल तालको पानीले ‘वाटर रिचार्ज’को काम गर्नुका साथै सिमसार क्षेत्रको संरक्षणमा सहयोग पुगेको वडाध्यक्ष तेजुलाल चौधरीको भनाइ छ ।

उहाँले भन्नुभयो, “यस प्रकारका ताल र पोखरीले चुरे क्षेत्रको जलाधार संरक्षणमा दीर्घकालीन योगदान पुर्याउँछन् । त्यसैले यस्ता जलाधार क्षेत्रको संरक्षणमा हामीले विशेष ध्यान दिएका छौँ । स्थानीयलाई प्रोत्साहन गरेका छौँ ।”

गोसाइ डाँडा तालको सिमसार क्षेत्रको पानीलाई सङ्कलन गरी आवश्यकताभन्दा बढी पानी सिँचाइका लागि प्रयोग गर्ने सम्भावनाको अध्ययनपछि भूसंरक्षण तथा सिँचाइ कार्यालयले यहाँ लगानी गरेको छ । झवाई खोल्सीको पानी प्रयोग गरी बानोगाउँका किसानले तरकारी, गहुँ, धानलगायत बाली उत्पादन गर्न थालेपछि थारू र मुसहर समुदायको जीवनस्तरमा सुधार आएको छ ।

यस क्षेत्रको विशेषता भनेकै स्थानीय थारू र मुसहर समुदायको सक्रिय सहभागिता हो । सामुदायिक वनको संरक्षण, तालको व्यवस्थापन र सौन्दर्यीकरणमा स्थानीयकै अग्रसरताले यो क्षेत्र उदाहरणीय बन्दै गएको छ ।

झवाई खोल्सी संरक्षण समितिका सचिव आनन्दलाल चौधरीका अनुसार खोल्सी दहमा माछापालन गरेर वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी भइरहेको छ भने वनको डालापात र दाउरा बिक्रीबाट थप पाँच लाख रुपैयाँ आम्दानी हुने गरेको छ । “यसले सामुदायिक वनको दिगो व्यवस्थापनसँगै स्थानीयको आयआर्जनमा ठोस टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।

ताल क्षेत्रमा बोटिङ, विश्रामस्थल, घुम्ने बाटो, शौचालय, वनभोजस्थलजस्ता संरचना निर्माण भइसकेका छन् । यस सामुदायिक वनका अध्यक्ष चौधरीका अनुसार महादेव र हनुमान मन्दिर निर्माण अन्तिम चरणमा रहेको छभने भविष्यमा भ्यूटावर निर्माण गर्ने योजना पनि रहेको छ ।

तालको बीचमा रहेको जमिनले यसलाई अझै आकर्षक बनाएको स्थानीय बताउँछन्, जसका कारण यहाँ आउने पर्यटकलाई पोखराको फेवातालको झल्को मिल्ने गरेको छ ।

स्थानीय बासिन्दा अशोक चौधरी भन्नुहुन्छ, “तालको बीचमा देखिने यो जमिनले यहाँको दृश्य निकै फरक र सुन्दर बनाएको छ । धेरैले त पहिलोपटक देख्दा फेवाताल जस्तै लागेको प्रतिक्रिया दिनुहुन्छ, यही कारण यहाँ आउने पर्यटक झन् आकर्षित भइरहेका छन् ।”

लहान नगरपालिकाले झवाई खोल्सी डाँडामा शिव मन्दिर निर्माण, गाउँसम्म पुग्ने सडक ढलान तथा थारू परिकारमार्फत पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले थारू संस्कृति होमस्टे व्यवस्थापन समेत सुरु गरिसकेको छ ।

यस क्षेत्रको थप विकासका लागि बाधक बनिरहेको बानो खोलामा पुल निर्माणको काम सुरु भइसकेको छ । पुलका लागि आवश्यक पिलर निर्माण भइसकेको र आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पुल निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

झवाई खोल्सी क्षेत्रलाई प्राकृतिक पर्यटकीयस्थलका रूपमा विकास गर्न लामो समयदेखि पहल भइरहे पनि यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीले स्थलगत भ्रमण गरी बजेट विनियोजन गरेपछि मात्र स्थानीय र प्रदेश सरकारको ध्यान केन्द्रित भएको सामुदायिक वनका अध्यक्ष चौधरीले स्मरण गर्नुभयो ।

उहाँका अनुसार लहानकै राजदेवी र हात्ती दहजस्ता प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल आउने पर्यटकलाई झवाई खोल्सी हुँदै गोसाइ डाँडा तालसम्म ल्याउने उद्देश्यका साथ काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “पर्याप्त प्रचारप्रसार गर्न सके संरक्षण, पर्यटन र समृद्धिलाई एउटै सूत्रमा बाँध्दै अघि बढिरहेको गोसाइ डाँडा ताल अब केही वर्षभित्रै मधेस प्रदेशकै नमूना पर्यापर्यटन गन्तव्य बन्ने अपेक्षा गरेका छौँ ।”

prabhu mahalaxmi
kumari