citizens life insurance long ad
stcnepal long ad

सुनका असर्फी र चाँदीका मेडालियन किन्न सर्वसाधारणको भीड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारलाई लक्षित गर्दै सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरु गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट सर्वसाधारणले आज बिहीबार र भोलि शुक्रबार यी सिक्का खरिद गर्न सक्नेछन्।

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सिक्का बिक्री हुनेछ। मौज्दात रहेसम्म पहिलो आउने ग्राहकलाई प्राथमिकताका आधारमा बिक्री गरिनेछ।

एक व्यक्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी खरिद गर्न पाउनेछन्। त्यस्तै, १० ग्राम तौलका चाँदीका दुईवटा मेडालियन खरिद गर्न सकिनेछ। चाँदीका मेडालियनमध्ये एउटामा लक्ष्मी र अर्कोमा गणेशको आकृति अंकित रहेको छ।

असर्फी तथा मेडालियनको मूल्य बिक्री हुने दिनको बजारमा कायम सुनचाँदीको मूल्यका आधारमा निर्धारण गरिनेछ। राष्ट्र बैंकले हरेक दिन बिहान करिब ११ बजेपछि मूल्य निर्धारण गर्ने र त्यसपछि मात्रै बिक्री सुरु गर्ने जनाएको छ।

सिक्का उत्पादन तथा प्रशोधनमा लागेको खर्चसमेत जोडिने भएकाले बजारमा प्रचलित सुनचाँदीको मूल्यभन्दा केही बढी पर्न सक्नेछ। त्यसैले बिहीबार र शुक्रबारको मूल्य फरक हुन सक्नेछ।

आज एकै दिन सुनको भाउ तोलामा १३ हजार ३०० र चाँदीको २६५ रुपैयाँ बढेका कारण असर्फी र सिक्का महँगो पर्ने भएको छ।

गत वर्ष सुनको उच्च शुद्धताको अभावका कारण राष्ट्र बैंकले सुनका असर्फी बिक्री गर्न सकेको थिएन। गत वर्ष चाँदीका सिक्का मात्रै बिक्री गरिएको थियो। यस वर्ष भने राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर असर्फी उत्पादन गरेको हो।

सिक्का खरिद गर्न चाहने व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा सम्बन्धित परिचयपत्र नम्बर उल्लेख भएको अन्य आधिकारिक कागजातको प्रतिलिपि साथमा लैजानुपर्नेछ। भुक्तानी नगद वा क्यूआर मार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

तिहारमा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का खरिद गरी लक्ष्मी र गणेशको प्रतीकका रूपमा पूजा गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलन छ। यही परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता सिक्का बिक्री गर्दै आएको हो।

IME Life
kumari