stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

युक्रेनमा शान्ति योजनाबारे ट्रम्पसँग निर्णायक छलफल गर्दै जेलेन्स्की

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनमा शान्ति स्थापनाका लागि अमेरिकाले तयार पारेको २० बुँदे योजनामा दुई देशका राष्ट्रपतिबीच निर्णायक छलफल हुने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी भोलोदिमिर जेलेन्स्कीबीच आइतबार फ्लोरिडामा भेटवार्ता हुने तय भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

जेलेन्स्कीले पनि शान्ति योजनाबारे ट्रम्पसँग प्रत्यक्ष छलफल हुने तय भएको बताएका छन्। २० बुँदामध्ये अधिकांश विषयमा युक्रेन सहमत भए पनि जमिनको विषय र सुरक्षा ग्यारेन्टीको विषय भने ट्रम्पसँगै छलफल गरी टुंग्याउनुपर्ने जेलेन्स्कीले बताउँदै आएका छन्।

सोही अनुसार आइतबार ती दुई विषयमा ट्रम्पसँग छलफल हुने जेलेन्स्कीले बताएका छन्। उनले नयाँ वर्षअघि धेरै विषयमा निर्णय हुन सक्ने दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि क्रिशमसअघि नै रूस(युक्रेन सहमतिमा पुग्ने बताएका थिए। यद्यपि जमिनको विषयमा सहमति नजुटेपछि दुई देशबीच सहमति हुन सकेन।

जेलेन्स्कीले नयाँ वर्षअघि नै एकखालको निर्णय हुने भने पनि ट्रम्पले भने आफूले स्विकृति नदिएसम्म केही पनि अन्तिम नहुने बताएका छन्।

पोलिटिकोसँग अन्तर्वार्ता क्रममा ट्रम्पले भनेका छन्, ‘मैले स्वीकृति नदिएसम्म केही पनि अन्तिम हुँदैन।’ जेलेन्स्कीले भने अमेरिकी पक्षले १५ वर्षे सुरक्षा ग्यारेन्टी प्रस्ताव गरेको र युक्रेन त्यसलाई अझै लामो बनाउन चाहेको बताएका छन्।

विगतमा सहयोगी देशहरूबाट पाएका असफल सुरक्षा आश्वासनका कारण युक्रेन बलियो र कानुनी रूपमा बाध्यकारी सम्झौता चाहिरहेको छ।

जेलेन्स्कीका अनुसार भेटवार्तामा डोनबास क्षेत्र र जापोरिज्जिया आणविक ऊर्जा केन्द्रलगायत संवेदनशील भू–भागका विषयमा छलफल हुनेछ।

रुसले दोनेत्स्क र लुहान्स्क समेटिएको डोनबास क्षेत्र पूर्ण रूपमा आफ्नो नियन्त्रणमा चाहेको छ। अमेरिकाले सम्झौताका लागि दोनेत्स्कका केही भाग छाडेमा स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव गरेको भए पनि यसको विस्तृत ढाँचा सार्वजनिक गरिएको छैन।

यदि भू–भागको मुद्दामा अमेरिकालाई युक्रेनको ‘कडा’ अडानमा सहमत गराउन नसकेमा २० बुँदे योजनालाई जनमत संग्रहमा लैजान आफू तयार रहेको जेलेन्स्कीले बताएका छन्। तर त्यसका लागि रुसले ६० दिनको युद्धविराममा सहमत हुनुपर्ने उनको सर्त छ।

आइतबार ट्रम्प र जेलेन्स्कीबीचको छलफलमा युरोपेली नेताहरू पनि अनलाइनमार्फत जोडिन सक्ने रोयटर्सले जनाएको छ। जेलेन्स्कीले नाटो प्रमुख मार्क रुटे र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब्बसँग पनि तयारीबारे छलफल गरिसकेका छन्।

वार्ता चलिरहेकै बेला रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको छ। पछिल्लो आक्रमणमा खार्किभ सहरमा दुई जनाको मृत्यु भएको छ। जेलेन्स्कीले ट्रम्पसँग भेटमा रुसमाथि थप दबाब कसरी बढाउने भन्ने विषय पनि उठाउने बताएका छन्।

prabhu mahalaxmi
kumari bank
kumari