stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

रासायनिक मल आयातका लागि बिस अर्बको स्रोत सहमति

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीका लागि मल खरिद गर्न थप बजेट माग गरेकोमा २० अर्ब ४७ करोड रुपियाँको स्रोत सहमति दिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत व्यवस्थापन गर्ने गरी स्रोत सहमति प्राप्त भएको जानकारी दिनुभयो ।

कृषि मन्त्रालयले धानबालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज बनाउन अर्थसँग १० अर्ब रुपियाँ बजेट माग गरेको थियो ।

“तत्काल बजेट विनियोजन गर्न सक्ने अवस्था भएकाले आगामी आवको बजेट मार्फत दिने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ,” उहाँले भन्नुभयो, “बजेट अर्को आर्थिक वर्षमा आए पनि यसले मल आयातका लागि टेन्डर गर्न मिल्छ ।” आइतबार नै बैठक बसेर टेन्डर गर्नका लागि आदेश दिइने उहाँले जानकारी दिनुभयो ।

टेन्डर गरेर मल आयात गर्न लामो समय लाग्ने भएकाले अहिले टेन्डर गरेर आयातकर्तालाई पछि रकम उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो । हिउँदे बालीका लागि मलको अभाव नभए पनि बर्खे धानबालीलाई आपूर्ति व्यवस्था सहज बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

धानबालीका लागि धेरै रासायनिक मलको आवश्यक पर्ने भएकाले अभाव हुन नदिन मल आयात गर्न लागिएको उहाँको भनाइ छ । अहिले मलको आयात भने नियमति भइरहेकाले अभाव नभएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्नका लागि २८ अर्ब ८२ करोड रुपियाँ विनियोजन गरिएको थियो । विनियोजित बजेटबाट मल आयातको टेन्डर गरिसकेकाले थप मल आयात गर्न कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग स्रोत सहमति लिएको हो ।

मङ्सिर दोस्रो सातासम्म चार लाख ६५ हजार मेट्रिक टन मल खरिदका लागि टेन्डर आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य २० देखि २५ प्रतिशतले बढेकाले पनि लक्ष्य अनुसार खरिद गर्न बजेट अपुग भएको मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्दा खरिद मूल्य बढे पनि अनुदानका कारण बजारमा भने किसानले सस्तोमा मल पाउने गरेका छन् ।

मुलुकमा वार्षिक सात लाख मेट्रिक टन मलको माग हुने गरेको छ । माग अनुसार मलको आयात नहुँदा बर्सेनि धान रोप्ने बेलामा किसानले अभाव खेप्नु परेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari