अमेरिकी सरकारद्वारा स्मार्टफोन उत्पादक एप्पलमाथि मुद्दा दायर
अमेरिकी स्मार्टफोन बजारमा आफ्नो एकाधिकार जमाउन खोज्नुका साथै साना प्रतिस्पर्धीलाई पछि धकेल्न र मूल्य बढाउन खोजेको आरोप लगाउँदै अमेरिकी सरकारले विश्वकै ठूलो स्मार्टफोन उत्पादक एप्पलमाथि मुद्दा दायर गरेको छ । अमेरिकी न्याय मन्त्रालय र १५ वटा राज्य सरकारहरूले बिहीबार मुद्दा हालेका हुन् ।
यसलाई ठूला प्रविधि कम्पनीहरूमाथि अमेरिकी सरकारको नियमन प्रयासको निरन्तरता भनिएको छ । अमेरिकी सरकारले मेटा (फेसबुक), अल्फाबेट (गुगल), अमेजन लगायत कम्पनीहरूमाथि यस अघि नै बजारमा प्रभाव पारेको लगायत आरोपमा विभिन्न मुद्दा र जरिवाना गराउँदै आएको थियो ।
‘कम्पनीहरूले प्रतिस्पर्धासम्बन्धी कानुन उल्लंघन गर्न पाएकै कारण उपभोक्ताहरूलाई चर्को मूल्य तिर्न बाध्य पारिनु हुँदैन, ‘अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले मुद्दा दायर गरेपछिको प्रतिक्रियामा भनेका छन्, ‘अहिले नियमन नगर्ने हो भने एप्पलले अमेरिकी बजारमा रहेको आफ्नो एकाधिकारलाई थप मजबुत बनाउँदै लग्ने देखिन्छ ।
एउटा स्मार्टफोनलाई झन्डै १६०० डलरमा बेच्ने एप्पलले स्मार्टफोन उद्योगमा रहेका अन्य प्रतिस्पर्धीभन्दा बढी नाफा कमाउने र त्यसका लागि उसले सफ्टवेयर, क्रेडिट कार्ड कम्पनी लगायतबाट समेत फाइदा लिने गरी अत्यधिक मूल्य राख्ने गरेको आरोप न्याय मन्त्रालयको छ ।
लगभग २७ खर्ब अमेरिकी डलर कूल बजार मूल्य रहेको एप्पलको शेयरमा बिहीबारको मुद्दाले झन्डै चार प्रतिशतको गिरावट आएको थियो । कम्पनीले अमेरिकी सरकारका आरोपहरूलाई अस्वीकार गरेको छ ।

























