फोर्ब्स पत्रिकाको सूचीमा पर्न सफल यी हुन् विश्वको उत्कृष्ट १० बीमा कम्पनी
काठमाडौं । विश्वप्रसिद्ध फोर्ब्स पत्रिकाको वैश्विक श्रेणीमा उत्कृष्ट २००० सार्वजनिक कम्पनीहरुको सूचीमा १०५ वटा बीमा कम्पनीहरु दरिन सफल भएका छन् । विभिन्न सूचकको आधारमा चयन गरिएका उत्कृष्ट बीमा कम्पनीहरुमध्ये ११ वटा कम्पनी विश्वकै उत्कृष्ट १०० कम्पनीको सूचीभित्र परेका छन् ।
फोर्ब्स पत्रिकाले प्रकाशन गरेको प्रतिवेदन अनुसार उत्कृष्ट सूचीमा समावेश भएकामा ६ वटा अमेरिकी ३ वटा चिनियाँ, स्वीट्जरल्याण्ड, जर्मनी र जापानको एक एक बीमा कम्पनी रहेका छन् ।
सबैभन्दा शिर्ष स्थानमा चीनको पिंग वान बीमा समूह परेको छ। उत्कृष्ट २००० कम्पनीको सूचीमा १७ औं स्थानमा परेको यो कम्पनी बीमा कम्पनीहरुमध्ये सबैभन्दा शिर्ष स्थानमा रहेको छ। यो समूहले सन् २०२२ मा १८१ बिलियन अमेरिकी डलरभन्दा बढी आय गरेको छ।
घरजग्गा कारोबारमा गरेको लगानी डुबे पछि यो कम्पनीको श्रेणी छैठौंबाट खस्किएर १७ मा पुगेको हो । चीनमा गत वर्ष चाइना फर्च्युन ल्याण्ड डेभलपर डुबेसँगै ६.४ अर्ब अमेरिकी डलर जोखिमवापत व्यवस्था गर्नुपरेको थियो ।
तथापि, फोर्ब्सले पिंग एनलाई “अद्भूत नगद गाई” को रूपमा वर्णन गरेको छ । यसको बढ्दो आम्दानी र ग्राहक आधार, जुन अघिल्लो वर्षको २१८ मिलियनबाट बढेर २२७ मिलियन पुगेको थियो।
यसैगरी बीमा कम्पनीमध्ये दोश्रो स्थानमा रहेको युनाइटेड हेल्थ ग्रुप संयुक्त राज्य अमेरिका विश्वको उत्कृष्ट पब्लिक कम्पनीको २२ औं स्थानमा रहेको छ। यो समूहले गत वर्ष २९७ अर्ब अमेरिकी डलर भन्दा बढी बीमाशुल्क आय गरेको थियो ।
तेश्रो स्थानमा रहेको बीमा कम्पनी एलायन्ज जर्मनी (३५ औं) ले १३८ अर्ब डलर बीमाशुल्क आय गरेको छ। सन् २०२१ मा यो फोर्ब्सको मूल्यांकनमा विश्वभरकै पब्लिक कम्पनीहरूको सूचीमा २३ औ स्थानमा रहेको थियो ।
बीमा कम्पनीहरूमध्ये चौथो स्थानमा एक्जा समूह (४८ औं), पाँचौं स्थानमा चाइना लाइफ चीन(७१ औं), छैठौ स्थानमा एआईए समूह हङकङ (७३औँ) रहेको छ । यसैगरी सातौमा मेट लाइफ न्यूयोर्क (७४ औं), आठौंमा जुरिच पुनर्बीमा स्विट्जरल्याण्ड (८ औं) नवौंमा सिग्ना अमेरिका (८४ औं) र दशौंमा एआइजी न्यूयोर्क संयुक्त राज्य अमेरिका (९० औं) मा परेका छन् ।























