राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान) को साधारण सभा आज (वैशाख ३ गते) बस्दैछ । साधारण सभाले सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजनालाई अनुमोदन गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधन समेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।
त्यसैगरी साधारण सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०६९–०७० देखि २०७३–०७४ सम्मको लेखापरीक्षकको प्रतिवेदन सहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गर्नेछ ।
त्यस्तै, आव २०७६/०७७ देखि २०७८/०७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकलाई नियुक्ति गर्ने र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने काम पनि सभाले गर्ने छ । साधारण सभा, रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेबाट बस्ने निर्णय गरेको हो ।