आज हिमालयन लाइफ इन्स्योरेन्सको सत्रौं साधारण सभा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण आज (फागुन ११ गते) बस्दैछ । इन्स्योरेन्स कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
इन्स्योरेन्स कम्पनीले बोनस सेयरमा लाग्ने कर भने सेयरधनी आफैंले तिर्नुपर्ने बताएको छ । प्रचलित कानुनी व्यवस्था बमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ ।
साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्स कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
साधारण सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।