सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा
३५ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सूर्यज्योतिले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेको छ ।
कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको हो । वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ ।