रोकिने भयो भोलिदेखि कोरोना बिमा

आर्थिक सञ्जाल
काठमाडौं । कोरोना बिमा हालको लागि स्थगित गर्ने निर्णय भएको छ । बिहीबार बिमा समिति र नेपाल बिमक संघबीच भएको छलफलबाट तत्कालका लागि कोरोना बिमा रोक्ने निर्णय गरिएको हो ।
बिमा समितिको विशेष पहलमा सुरु भएको कोरोना बिमामा अत्याधिक आकर्षण बढेको थियो । तर बिमा कम्पनीहरुको पुँजी बराबर नै दायित्व हुन लागेपछि तत्कालका लागि स्थगनको निष्कर्षमा समिति पुगेको हो । समितिले वैशाख ७ गतेदेखि कोरोना बिमा कार्यक्रम सुरु गरेको थियो ।
कोरोना बिमाका लागि संक्रमणको पुष्टि हुने (पीसीआर परीक्षणमा पोजेटिभ) बित्तिकै बीमितले क्षतिपूर्ति पाउने व्यवस्था मिलाइएको थियो । तर पछिल्लो समय संक्रमित संख्या ह्वात्तै बढ्न थालेपछि बिमा कम्पनीहरु पनि आत्तिएका हुन् । कोरोना बिमामा ५० हजार र १ लाख रुपैयाँ दाबी भुक्तानी पाउने व्यवस्था गरिएको थियो ।
यो बिमांकमध्ये ५० हजार रुपैयाँ बराबरको बिमा गर्न वार्षिक व्यक्तिगत रुपमा ५ सय र सामूहिक वा पारिवारिक रुपमा ३ सय रुपैयाँ बिमा शुल्क कायम गरिएको थियो ।
यस्तै, १ लाख रुपैयाँ बराबरको बिमा गर्न व्यक्तिगत रुपमा १ हजार रुपैयाँ र सामूहिक वा पारिवारिक रुपमा ६ सय रुपैयाँ बिमा शुल्क तोकिएको थियो ।
कोरोना बिमाको अवधि १ वर्ष तोकिएको छ । कोरोनाबिमा छोटो समयमा नै सर्वसाधारणमा लोकप्रिय बनेको छ । संस्थाहरुले पनि कर्मचारीको कोरोना बिमा गर्दै आएका थिए । बिमा समितिका अनुसार हालसम्म ३ लाखभन्दा बढीले कोरोना बिमा गराइसकेका छन् ।