अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न बृहत् राष्ट्रिय विमर्श गरौँः चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि बृहत् राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन् ।
वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताए । उनले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजीक्षेत्रको सहभागितामा बृहत् राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताए ।
वरिष्ठ उपाध्यक्ष ढकालले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति मार्फत बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरण ल्याउनुपर्ने बताए । उनले अर्थतन्त्रको मेरुदण्ड निजीक्षेत्र भएको भन्दै निजीक्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।























