नेपाल उद्योग तथा व्यवसायी महासंघको आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । नेकपा (एमाले) निकट उद्योगी व्यवसायीको संगठन ‘नेपाल उद्योग तथा व्यवसायी महासंघ’ले सरकार समक्ष १० बुँदे माग राख्दै ती माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी सरकारलाई दिएको छ ।
महासंघले हिजो भदौ १७ गते बसेरा होटलमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै सरकारले देशमा व्यवसायीक वातावरण बिगारेको आरोप लगाएको छ। यसमा नेपाल राष्ट्र बैंकले समेत भूमिका खेलेको बताएको छ । महासंघले अहिलेको नाजुक अर्थतन्त्रको जिम्मेवारी सरकार र राष्ट्र बैंक लिनुपर्ने पनि बताएको छ ।
महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योगी व्यवसायीको १० बुँदे सरकारले पुरा नगरे आन्दोलन गर्ने बताएका छन।
उनले भनेका छन ‘हाम्रो माग सम्बोधन नभए कडा आन्दोलन गर्ने छौं । देशमा सबै व्यवसायीहरु अहिले समस्यामा छन् ।’ उनले समस्यामा परेका व्यवसायीलाई सरकारले अझै समस्या थप्दै गयो भने महासंघ चुप लागेर नबस्ने पनि बताएका छन ।
महासंघले अनुसन्धानका नाममा उद्योगी/व्यवसायीमाथिको धरपकड रोकिनुपर्ने, उच्च ब्याजलाई घटाई उद्योग व्यवसाय गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।
अर्थतन्त्रको मुख्य हिस्सा करिब ८१.५५ प्रतिशत ओगटेको निजी क्षेत्रलाई संरक्षण गर्ने र बैंकहरुले व्यवसायीलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन वातावरण बनाउनुपर्ने महासंघको माग रहेको छ । यसबाहेक अन्य माग सहित आफ्ना १० बुँदे माग तत्काल सुनुवाइ नभए आन्दोलनमा होमिने महासंघले जनाएको छ ।























