त्रिशुली जलविद्युत कम्पनीको आइपीओ परेको रकम चुक्ता गर्न आग्रह
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले आज मंगलबार असोज ४ गतेदेखि आफ्ना सेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम जम्मा गर्न आग्रह गरेको छ ।
‘हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको यो आयोजनाको आइपीओ गत चैत ७ गते खुलेको थियो ।
कम्पनीले जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
उक्त सेयरमा अंकित मूल्यको १० का दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । कम्पनीले प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका सेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँ भुक्तानी गर्न भनेको हो । सेयरधनीहरुलाई कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्न आग्रह गरेको छ ।
९० रुपैयाँमध्ये सेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाए हुने कम्पनीले जनाएको छ । आयोजनाको सेयर २०७५ साल चैत १४ गते बाँडफाँट भएको थियो ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत उक्त रकम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।





















