असार २८ गते हिमालयन हाइड्रोपावरको आइपीओ बाँडफाँट हुने
१४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आइपीओ मंगलबार असार २८ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा मंगलबार असार २८ गते आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, हिमालयन हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्ने भएको छ ।
यसमा मागभन्दा १०.१० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।
यस आइपीओमा कुल १६ लाख ३२ हजार ८०२ जनाले १ करोड ८४ लाख ८८ हजार ४५० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीले असार १५ गतेबाट १९ गतेसम्म १९ करोड ६८ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५ प्रतिशत अर्थात् ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।
बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्राले २०७८ चैत १७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ चैत १४ गतेसम्म बहाल रहन्छ ।
























