नागरिक बचतपत्रमा आजदेखि आवेदन दिन सकिने
वाणिज्य बैंकमा भन्दा धेरै ब्याजदर
Nepal Rastra Bank
काठमाडौं । आज फागुन १० गते बुधबारदेखि नेपाल राष्ट्र बैंकले सरकारको तर्फबाट बिक्रीमा ल्याएको २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा आवेदन दिन सकिनेछ ।
राष्ट्र बैंकले ‘नागरिक बचतपत्र २०८४ क’ नामको बचतपत्र निष्कासन गरेको हो । यो बचतपत्रको परिपक्व अवधि ५ वर्षको छ । यस बचतपत्रमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा लगानी गर्ने नेपाली नागरिकले वार्षिक ११.५० प्रतिशत ब्याज पाउने छन् । यो ब्याज वाणिज्य बैंकहरुले मुद्दतीमा दिँदै आएको भन्दा धेरै हो ।
हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । यस बचतपत्रको ब्याज ६–६ महिनामा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याज रकम नजिकको पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट लिन सकिनेछ ।
बचतपत्रमा कम्तीमा १० हजार रुपैयाँ लगानी गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । नेपाली नागरिकले मात्रै खरिद गर्न पाउने यो बचतपत्रको साँवा रकम २०८४ चैत ६ गते मात्रै फिर्ता पाइनेछ ।
बीचमै रकम चाहिएको अवस्थामा भने यो बचतपत्र बैंकमा धितो राखेर ऋण लिन सकिने छ । राष्ट्र बैंकको वेबसाइटमा रहेको फारम भर्न सकिन्छ । साथै आफ्नो नजिकको बैंक तथा वित्तीय संस्थामार्फत पनि बचतपत्रमा आवेदन दिन सकिनेछ ।























