मनकामना स्मार्ट लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन
मागभन्दा बढी परिसक्यो आवेदन
काठमाडौं । गत असार १७ गतेबाट आइपीओ बिक्री खुला गरेको मनकामना स्मार्ट लघुवित्तको आइपीओमा आवेदन दिने आज सोमबार असार २१ गते अन्तिम हो । यस आइपीओमा मागभन्दा निकै बढी आवेदन परिसकेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइतबार साँझसम्ममा यसमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ ।
१७ लाख ६३ हजार ७९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४६० कित्ताका लागि आवेदन परिसकेको छ । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६३.८४ गुणा बढी हो । मनकामना स्मार्टले १०० रुपैयाँ दरको कुल ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसमध्ये ०.५५ अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५५ ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याइएको छ ।
बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । स्मार्ट लघुवित्तको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा तथा मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सक्नेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ दिएको छ । यसले निष्कासनकर्ता कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।
इक्राले गत फागुन ११ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ आगामी फागुन ११ गतेसम्म बाहल रहनेछ ।


























