सेयर खरिदबिक्रीमा उत्साह कायमै

काठमाडौं । सेयर खरिद बिक्री रकममा बुधबार पनि उत्साह जारी छ । नेप्से सूचक सामान्य अंकले बढे पनि कारोबार रकममा रौनकता आउने क्रम जारी छ । बजार खुलेको पहिलो सत्रमा नेप्से सूचक दोहोरो अंकले बढेको थियो । तर अहिले कारोबारको मध्य समयतिर सूचकमा सामान्य मात्र वृद्धि छ । तर खरिद बिक्री रकम भने ८६ करोड हाराहारीमा पुगिसकेको छ ।
कारोबारमा उत्साह जारी रहेकाले लगानीकर्ता उत्साहित नै बनिरहेको अनुमान गर्न सकिन्छ । बढ्दो क्रममा रहेको नेप्से सूचकलाई खरिदबिक्री रकमले राम्रो साथ दिएकाले दीर्घकालमा बजारले सकारात्मक यात्रा तय गर्ने विश्लेषण भइरहेको छ । यतिबेला सेयर बजारका लगानीकर्ताको मनोबल सकारात्मक देखिएको छ ।
बजार अझै माथि जान्छ भन्ने उनीहरुलाई विश्वास लाग्न थालेको छ । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञानले सर्वोपरि स्थान राख्ने गर्छ । लगानीकर्ता सकारात्मक हुन सकेमा बजारको वृद्धि हुनबाट कसैले पनि रोक्न सक्दैन । सेयर बजार सुधारका कार्यक्रम अघि बढिरहेका छन् । नेप्से, सीडीएस तथा धितोपत्र बोर्डले बजार सुधारका काम अघि बढाइरहेका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । अधिकांशको रिपोर्ट आइसकेको अवस्था छ । सूचीकृत कम्पनीहरुले औसतमा नाफा पनि राम्रोसँग वृद्धि गरेका छन् । यसको सकारात्मक प्रभाव पनि बजारमा परिरहेको छ ।
लगानीकर्ताले सबल कम्पनी छानेर अघि बढ्न सक्नुपर्छ । सेयर बजार सधैं बढ्ने वा घट्ने मात्र गर्दैछ । तलमाथि गर्दै माथिल्लो यात्रा तय गर्ने भएकाले दिनहुँ हुने उतारचढावबाट प्रताडित हुनुभन्दा पनि सबल कम्पनीमा दीर्घकालीन हिसाबले लगानी गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।