विपिन र मिरुना लिएर उनको स्विटर निर्माण घोषणा
काठमाडौं । चलचित्र ‘उनको स्वीटर’ निर्माण हुने भएको छ । निर्माण संस्था आर्टमान्डूले काठमाडौंमा एक समारोहबीच यो फिल्म शिर्ष गीत ऊनको स्वीटर‘’ सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो ।
यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बालगायतका कलाकारको मुख्य भूमिका रहने छ । बाँकी कलाकार छनौट हुँदै गरेको निर्माण पक्षले जनाएको छ ।
यो चलचित्रको लेखन तथा निर्देशन नवीन चौहान रहेका छन् । आर्टमाण्डूमार्फत् तीनपाते, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, के माया लाग्छ, बटौली जस्ता विभिन्न म्युजिक भिडियो निर्देशनपछि नविन चलचित्र निर्देशनमा आएका हुन् ।
यो चलचित्रको छायाँकन मँसिरबाट सुरु गर्ने उनले बताएका छन् । आफुले निर्देशन गर्ने यो चलचित्र मौलिक र नेपाली स्वादको हुने नविनले दाबी गरे ।
यस अघि बटौली र घुमीघुमी गीतको भिडियोमा नविनसँग काम गरेकाले नविनले राम्रो सिनेमा बनाउने भनाई अभिनेता विपीनले फिल्मको घोषणा समारोहमा राखे । अभिनेत्री मिरुना पनि नविनको कामप्रति आशाबादी छिन् ।
यो चलचित्रमा गायक सुजन चापागाई र गायिका झुमा लिम्बुको संगीत रहने छ । यसको कास्टिङ डिरेक्टरमा अनिल सुब्बा र सुरज तमू, छायाँकारमा चिन्तनराज भण्डारी, सम्पादकमा कृष्ण भण्डारी, ब्याकराउण्ड म्युजिकमा कोबिद बज्र रहेका छन् ।























