सम्बन्ध विच्छेद रोक्न बनाईयो फिल्म

काठमाडौँ । नेपालमा पछिल्लो समय दम्पत्तिबीच सम्बन्ध बिच्छेदको क्रम बढेपछि त्यसलाई केही न्युनिकरण गर्न सकिन्छकी भनेर चलचित्र ‘विच्छेद’ निर्माण गरिएको छ । मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको यो चलचित्रले समाजमा नारीमाथि हुने हिँसा र सम्बन्ध बिच्छेदलाई काम गर्न कोशिस गर्ने विश्वास निर्माण पक्षको छ ।
यो चलचित्रको रिलिज मिति घोषणा गर्दै बुधबार टिजर र पोस्टर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई ८ मङ्सिरबाट रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।
चलचित्र ‘बुलबुल’मा एकसाथ काम गरेका जोडी अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवा यो चलचित्रमा जोडीको रुपमा छन् । यी दुईले यो चलचित्रमा दम्पत्तिको भूमिका निर्वाह गरेका छन् ।
‘चलचित्र विच्छेद नेपाल रिलिजसँगै अन्य विभिन्न मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी भइरहेको छ । सामाजिक कथाबस्तुमा आधारित यो चलचित्रलाई दर्शकले मन पराउने हाम्रो विश्वास छ ।’
निर्देशक सत्यराज चौलागाईंले राजधानीसँग भने । उनका अनुसार गाउँले परिवेशमा आधारित रहेको यो चलचित्रको छायाङ्कन रामेछापको एक गाउँमा गरिएको हो ।
अभिनेता मुकुन भुसालले लेखेको बिच्छेदको कथामा निर्देशक चौलागाईँले पटकथा लेखेका छन् । मुकुन र लक्ष्मीका अलावा यस चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जीवन थापा, जयराम सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो चलचित्रमा सङ्कल्प भुजेलको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । समीर मियाको भिएफएक्स, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र रेनिश फागोको कलर ग्रेडिङ छ ।
चलचित्रका गीतमा एसडी योगी, सुरज थापा र आशिश महरको सङ्गीत, सत्यराज चौलागाईँ र राम अविरल विष्टको शब्द रचना रहेको छ । चलचित्रलाई काठमाडौँ उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।
२ कात्तिक २०८०, बिहीवार ०५:१४ बजे प्रकाशित