stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

कतारमा विदेशी कामदारलाई रोक्का, साउदीले पनि फर्काउन थाल्यो

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौँ । धनुषाका रितेश मण्डल सोमबार बिहान ८ बजे कतार जान त्रिभुवन विमानस्थल पुगेका थिए । सात वर्षदेखि कतारमा काम गर्दै आइरहेका उनी एकमहिने बिदा सकेर फर्कंदै थिए । तर उनलाई कतार एयरवेजले ‘चेक इन’ दिएन । टिकट काउन्टरले हमाद विमानस्थल ट्रान्जिट भएर अन्य मुलुकमा जाने यात्रुको ‘चेक इन’ गरे पनि कतारमै प्रवेश गर्नेलाई भने होल्ड गरिरहेको थियो ।

नेपालस्थित कतार एयरवेजले दोहाबाट ‘चेक इन’ गर्ने कि नगर्ने भन्दै आदेश पर्खिरहेको थियो । अन्ततः हेडक्वाटरबाट आदेश आयो, ‘अर्को सूचना जारी नभएसम्म कतारमा प्रवेश गर्ने कुनै यात्रुलाई चेक इन नगर्नू ।’ झन्डै आधा सिट खाली गरेर ११स्२५ बजे कतार एयरवेज दोहा उड्यो ।

मण्डल भने उड्न पाएनन् । ‘मेरो कम्पनीसँग सम्पर्क हुन सकेको छैन, तोकिएको दिन ड्युटीमा हाजिर हुन पाइएन भने जागिर क्यान्सिल हुन्छ, अब के हुन्छ थाहा छैन,’ मण्डलले खिन्नता व्यक्त गरे, ‘सायद कम्पनीले परिस्थिति बुझिदेला कि ? मेरो कमजोरीले उड्न नपाएको होइन ।’ कतारको सूचना कार्यालयले आइतबार राति मात्रै नेपालसहित १५ देशबाट भिजिट, अनअराइभल र कामको भिसामा आउने सबै यात्रुलाई अर्को सूचना नभएसम्म कतार प्रवेशमा रोक लगाएको विज्ञप्ति जारी गरेको थियो ।

सोमबार बिहान २ः१० मा त्रिभुवन विमानस्थलबाट उडेको विमानले पनि कतार जाने यात्रु बोकेको थियो । त्यसपछि दिउँसो ११ः२५ बजे र राति ७ः४५ बजे उडेको कतार एयरवेजले कतार प्रवेश गर्ने यात्रु बोकेन । राति १० बजेको नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले पनि यात्रु बोकेनन् । सोमबार मात्रै कतार जाने ५ सय जना विमानस्थलबाट फर्काइएका थिए ।

कतारले आइतबार दोहाको मध्यबजारमा रहेको हाइपरमार्केटमा आएका तीन जना आप्रवासी कामदार कोभिड–१९ बाट संक्रमित भएको पुष्टि भएपछि नेपाल सहित १४ देशबाट कामदार आउने प्रक्रियालाई स्थगन गरेको छ । दोहास्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेश गर्न रोक लगाएको जनाएको छ ।

कतार एयरवेजले यस अघि इटालीका लागि सबै उडान बन्द गरिसकेको छ । दूतावासले कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थाबाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्न र एकापसमा टेलिफोन वा इमेलमार्फत् मात्रै सम्पर्क गर्न अनुरोध गरेको छ । ‘दूतावासबाट प्रवाह हुने सम्बन्धमा समेत आवश्यक जानकारी लिनुपरेमा भौतिक रूपमा दूतावास आइराख्नु नपर्ने व्यवस्था मिलाइएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा छ ।

कतारले हाइपरमार्केट अस्थायी रूपमा बन्द गराएको छ । ती व्यक्तिको नजिक भएका झन्डै ३ सय जनाको स्वास्थ्य जाँच गरिएको छ । कतारमा संक्रमितको संख्या सोमबारसम्म १८ पुगेको छ । कतारमा झन्डै चार लाख नेपाली छन् । साउदी जाने पनि फर्काइए नेपालीको प्रमुख गन्तव्य रहेको साउदी अरबमा जाने कामदार सोमबार त्रिभुवन विमानस्थलबाट उड्न पाएनन् । फ्लाई दुबई र एयर अरेबियामार्फत् साउदी जाने यात्रुलाई काठमाडौंमा रोकिएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले झन्डै दुई जनालाई फ्लाई दुबईले फिर्ता गरेको बताए । ‘हामीलाई विमानस्थलभित्र जान दिइएको छैन, दुई घण्टादेखि बाहिर बसिरहेका छौं,’ एयर अरेबियाबाट साउदी जान त्रिभुवन विमानस्थलमा भेटिएका शत्रुघ्न पासवानले भने, ‘अब के गर्ने भनेर चिन्तित भएका छौं ।’ यूएईको स्वास्थ्य तथा सुरक्षा मन्त्रालयका अनुसार ५९ जनामा संक्रमण भेटिएको छ । जसमा दुई नेपालीसमेत छन् । सोमबार मात्रै नेपाली कामदारमा संक्रमण देखिएको हो । उनीहरूलाई क्वारेन्टाइनमा राखेर उपचार गरिएको छ । कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari