stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

जिम्मेवारी पूरा नगरेको आरोप

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ ।

साम्सीका निर्वाचन अधिकृत दिलीपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।

बुढीगंगाका निर्वाचन अधिकृत स्थापितले समय तालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोग स्रोतले बताएको छ ।

आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका थिए । उनको मदिरा सेवन गरेको अवस्थाको फोटो सहित आयोगमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको आयोग स्रोतको भनाई छ ।

‘उहाँलाई हामीले जिम्मेवारीबाट मुक्त गरेर अर्को निर्वाचन अधिकृत खटाएका छौँ’ आयोग स्रोतले भन्यो, ‘कारवाहीका लागि न्याय सेवा आयोगमा सिफारिस गर्ने निर्णय भइसकेको छ ।’ सरकारी वकिल समूहमा रहेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत प्रधानलाई पनि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । गैर जिम्मेवार काम गरेको भनी आयोगले उनलाई हटाउनुका साथै उनको ठाउँमा विनोदकुमार दाहाललाई खटाएको छ ।

निर्वाचन चिह्न बाँड्ने दिनसम्म पनि उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न नसकेको आयोग स्रोतको भनाइ छ ।

‘निर्वाचन चिह्न प्रदान गर्ने दिनसम्म पनि उहाँले अन्तिम नामावली प्रकाशित नगरेको भेटियो’ आयोग स्रोतले भन्यो, ‘गैरजिम्मेवारपूर्ण रूपमा काम गरेको देखिएकाले जिम्मेवारीबाट हटाएर अर्को व्यवस्था गरेका हौँ ।’

उनले बेरुजु नै नभएका एक उम्मेदवार विरुद्ध उजुरी परेकै आधारमा मनोनयन रद्द गर्ने निर्णय गरेका र उक्त निर्णय विवादित भएपछि उजुरी परेको आयोग स्रोतले बताएको छ ।

आयोगले रौतहटको मौलापुर नगरपालिकाका निर्वाचन अधिकृत डल्लुराम चौधरीको ठाउँमा पनि अर्को निर्वाचन अधिकृत खटाएको छ ।

prabhu mahalaxmi
kumari