सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले १८२ ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । फागुन ५ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज १० बजेदेखि ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयले जनाएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नविकरण गर्न लागेको १८२ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८२ भदौ ३ गते परिपक्व हुनेछ ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ ।
पछिल्लो समय जारी भएका ट्रेजरी बिल खरिदका लागि बैंक तथा वित्तीय संस्थाहरुले माग भन्दा ३ गुणाबढीसम्म बोल गरेका छन् । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो ।