देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा
काठमाडौँ । देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो ।
औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याङ्कले देखाएको छ । मुलुकमा भत्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको तथ्याङ्क छ ।
प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ५९.७ प्रतिशत रहेको देखिन्छ ।
यस्तै गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ । सबैभन्दा कम लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ ।
प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारिएको हो ।
नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ९५ अर्ब ५० करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार २०८० असार मसान्तसम्ममा नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये भारतबाट सबैभन्दा बढी एक खर्ब तीन अर्ब ४५ करोड रुपियाँ भित्रिएको छ । जुुन ३५ प्रतिशत हो ।
चीनबाट ३५ अर्ब ४६ करोड (१२ प्रतिशत), आयरल्यान्डबाट २२ अर्ब ६२ करोड (७.७ प्रतिशत), अस्ट्रेलियाबाट १९ अर्ब छ करोड (६.४ प्रतिशत) र सिङ्गापुरबाट १८ अर्ब ८१ करोड (६.४ प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
यसैबिच आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकामा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।