त्रिविवि अर्थशास्त्र केन्द्रीय विभाग र सेजनबीच सम्झौता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौता भएको छ ।
अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा।डा शिवराज अधिकारी र सेजन अध्यक्ष सुजन ओलीले बुधबार एक कार्यक्रमबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो सम्झौताअनुसार अर्थतन्त्रसँग जोडिएका विभिन्न विषयमा संयुक्त रुपमा अध्ययन एवम् अनुसन्धान, सिकाई कार्यक्रम सञ्चालन, ज्ञानको आदान–प्रदान (नलेज एक्सचेञ्ज) का लागि दुई संस्थाले सहकार्य गर्नेछन् ।
त्यसैगरी, बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने पनि सम्झौतापत्रमा उल्लेख छ ।
विभागले गरेका अध्ययन अनुसन्धानका नतिजाको तथ्यपरक विश्लेषण सहित नीति निर्माता र सर्वसाधारणसम्म पुर्याउन सेजनले भूमिका खेल्नेछ ।
आर्थिक पत्रकारको सीप तथा क्षमता अभिवृद्धिका लागि तालिम, अनुसन्धान लगायतका क्षेत्र मा विभागले समन्वय, सहकार्य एवं सहयोग गर्नेछ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि विभाग प्रमुख अधिकारीले अर्थतन्त्रका विविध आयामसँग जोडिएका विषयमा तथ्यपरक अनुसन्धान, तटस्थ विश्लेषण र त्यसको नतिजामुखी प्रयोगका लागि दुई संस्थाबीच सहकार्य गर्न लागिएको बताए ।
तथ्यमा आधारित र कार्यान्वयनयोग्य नीति निर्माणका लागि पैरवी गर्ने समान उद्देश्यसाथ विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धानका लागि दुवै संस्थाले संयुक्त रुपमा भूमिका खेल्ने उनको भनाई छ ।
आर्थिक विधामा कलम चलाइरहेका सञ्चारकर्मीको क्षमता विकाससँगै विभिन्न अनुसन्धानमा आधारित सूचना तथा तथ्यांक प्राप्ति र त्यसको सहि प्रयोगका लागि अर्थशास्त्र केन्द्रीय विभागसँग सहकार्य भएको धारणा सेजन अध्यक्ष ओलीले राखे ।
सेजनले विभिन्न अध्ययन अनुसन्धानसँगै अर्थतन्त्रसँग जोडिएका सार्वजनिक विषयमा बहस, छलफल, अन्तरक्रिया, ‘नलेज सिरिज’ लगायत कार्यक्रम चलाइरहेको ओलीले बताए ।
उनले विभागसँगको सहकार्यबाट यी क्षेत्रमा थप प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास व्यक्त गरेका थिए ।