नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने एडीबीको प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.३% रहने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ ।
एडीबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरेपनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ ।
गत आर्थिक वर्षमा वृद्धिदर १.९% मा सीमित भएपनि यस वर्ष भने विस्तार हुँदै ४.३% को वृद्धिदर हासिल गर्ने एडीबीले उल्लेख गरेको छ ।
यता, एडीबीले नेपालको मुद्रास्फीति सम्बन्धी प्रक्षेपण पनि कम गरेको छ । चालु आर्थिक वर्षमा मुद्रास्फीति दर ६.२% मा सीमित हुने एडीबीको प्रक्षेपण छ ।
गत आर्थिक वर्षमा भने मुद्रास्फीति ७.७% पुगेको उल्लेख छ ।केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ ।
यस वर्ष रियल इस्टेट, थोक र खुद्रा व्यापार र आवास र खाद्य सेवाहरुमा विस्तार आउने अनुमान गरिएको छ ।






















