stcnepal long ad
himalayan Everest Insurance long ad

पहिलो महिना शोधनान्तर स्थिति सकारात्मक

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८/८१ को पहिलो महिनामा पनि शोधनान्तर स्थिति सकारात्मक देखिएको छ भने चालु खाता बचतमा रहेको छ । गत आर्थिक वर्षमा सुधारिएको शोधनान्तर स्थिति यो वर्षको पहिलो महिनामा पनि सुधारिएको हो ।

नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा नौ करोड ८५ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई २७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८० करोड तीन लाख कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ४० करोड ऋणात्मक रहेको थियो ।

राष्ट्र बैङ्कका अनुसार चालु आवको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले बढेर साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेको छ ।

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० साउन मसान्तमा २।९ प्रतिशतले कमी आई एक खर्ब ८७ अर्ब ८९ करोड कायम भएको छ ।

२०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । आ व २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०।३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चालु आर्थिक वर्षको साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू व्रmमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत

२०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको  मुद्रास्फीति ८.९५ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२०, दुग्ध पदार्थ तथा अन्डाको १२.१९, रेस्टुरेन्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ भने घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.१३ प्रतिशतले घटेको छ ।

वस्तु निर्यातमा ८.७ प्रतिशतले कमी

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात व्रmमशः ५२७.२ र १५.४ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा अलैँची, जिङ्क सिट, पार्टिकल बोर्ड, जुस, अदुवालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाबिन तेल, औषधी (आयुर्वेदिक), पस्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

निक्षेप सङ्कलन २.३ प्रतिशतले घट्यो

बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन २.३ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धि दर ११.९ र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धि दर ३.८ प्रतिशत रहेको छ ।

साउनमै एक खर्ब १६ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको साउन महिनामै एक खर्ब १६ अर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ ।
राष्ट्र बैङ्कका अनुसार एक महिनाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २१.५ ले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १२.१ प्रतिशतले घटेर ३९ हजार १५२ कायम भएको छ ।

त्यसै गरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले घटेर १६ हजार ४२३ कायम भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

१ असोज २०८०, सोमवार ०८:१३ बजे प्रकाशित

NTA long ad