ब्याज भुक्तानीमा सहुलियत दिने गभर्नरको घोषणा, अरु के–के आउँदैछ प्याकेज ?

आर्थिक सञ्जाल २०७७ वैशाख १४ गते आइतबार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गरिने घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण अर्थतन्त्रमा समस्या परेको तथा ऋणीहरु समेत मारमा परेको भन्दै उनले ब्याजमा सहुलियत प्रदान गर्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सव अवसर पारेर उनले यो घोषणा गरेका हुन् । सहुलियत सम्बन्धी प्याकेज केही समयपछि आउने केन्द्रीय बैंकको भनाई छ ।
यसैगरी, कोरोनाबाट बढी प्रभावित भएका क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने पनि गभर्नरले बताएका छन् । ६० अर्बको पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गरिने पनि उनले बताए ।
बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गरिने गभर्नरको भनाई छ । कोरोनाबाट अधिक प्रभावित भएका क्षेत्रमा प्रवाह गरिने कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचनाको सुधिवा पनि अघि सारिने उनले घोषणा गरेका छन् । यसैगरी, लक डाउन अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको समय थप गर्ने व्यवस्था मिलाइने पनि गभर्नरले बताए ।