३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न सिद्धार्थ बैंकलाई नेपाल धितोपत्र बोर्डको अनुमति
काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो ।
यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि अब बिक्री प्रक्रिया अघि बढ्नेछ । सिद्धार्थले यो ऋणपत्र निष्कासनका लागि रेटिङ सम्पन्न गरीसकेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।
पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी जुटाउन ऋणपत्रलाई पनि आधार बनाउन थालेका छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।




















