बैंक अफ काठमाण्डूले निकाल्यो वित्तीय विवरण
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमास सम्म आइपुग्दा बैंक अफ काठमाण्डूको खुद नाफा २२.२१% ले घटेर १ अर्ब ४७ करोड ५५ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष यसले १ अर्ब ८९ करोड ६९ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा र खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेकाले नाफा प्रभावित भएको हो । यता, यसअवधिमा वितरण योग्य नाफा पनि ३२.२५% घटेको छ ।
अघिल्लो वर्ष १ अर्ब ३० करोड १ लाख ९८ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा असार सम्ममा ८८ करोड ७ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ ।
सञ्चालन नाफा र खुद ब्याज आम्दानी क्रमशः २२.९४% र ५.२१% ले घटेको छ । खराब कर्जा पनि ०.८१% ले बढेर २.३५% पुगेको छ ।
नाफा घटेको प्रभाव प्रतिसेयर आम्दानीमा पनि परेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २३ पैसाले घटेर १७ रुपैयाँ २६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ४४ पैसा रहेको छ ।





























