एनआरएन इन्फ्रास्टक्चरको आइपीओ मंगलबार बाँडफाँट हुने
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको आइपीओ अन्ततः मंगलबार साउन २७ गते नै बाँडफाँट हुने भएको छ ।
यो आइपीओ मंगलबार बिहान ९ बजे बाँडफाँट हुने कार्यक्रम तय भएको छ । नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मंगलबार नै आइपीओ बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कोरोनाका कारण सामूहिक भेला नगरी बाँडफाँट गरिने बिक्री प्रबन्धकले जनाएको छ ।
सानिमा क्यापिटलको फेसबुक पेजबाट बाँडफाँटको लाइभ देखाइनेछ । यस आइपीओको बिहीबार प्रीअलोटमेन्ट कार्य सम्पन्न भइसकेको छ ।
एनआरएनको आइपीओमा कुल १ अर्ब ६५ करोड ६७ लाख ६० हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख २८ हजार १५३ जनाले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताका लागि आवेदन दिएका हुन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ३१ लाख ६० हजार १८३ कित्तालाई आधार मान्दा ५।२४ गुणा बढी आवेदन हो । यसमा मागभन्दा बढी आवेदन परेकाले सेयर पाउन भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३ लाख १६ हजार १८ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १ लाख १२ हजार भन्दा धेरै जनाको भने हात खाली हुनेछ ।
कम्पनीले साउन १६ गतेबाट २१ ग्तेसम्म १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्कासन गरेको हो । कुल ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५५ अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
यसैगरी, २५ अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यसबाट बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो ।
जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको छ ।
गैरआवासीय नेपालीहरुले यो कम्पनीलाई प्रवद्र्धन गरेका छन् । यसको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट ), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट ), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट ) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।































