राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको दबाब परीक्षणका लागि नयाँ निर्देशिका जारी गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थार पूर्वाधार विकास बैंकको दबाब परीक्षणका लागि ‘स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०२३’ जारी गरेको छ ।
उक्त निर्देशिकाले यसअघिको ‘स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०१२’ लाई प्रतिस्थापन गर्ने राष्ट्र बैंकले जानकारी गराएको छ । दबाब परीक्षणले भविष्यमा देखा पर्नसक्ने प्रतिकूल परिस्थितिहरुमा बैंकहरुले कत्तिको लचिलोपन देखाउँछन् भन्ने जानकारी दिन्छ ।
राष्ट्र बैंकले पहिलो पटक सन् २०१२ मा बैंकहरुको दबाब परीक्षणका लागि निर्देशिका जारी गरेको थियो । उक्त निर्देशिका नेपाली बैंकिङ उद्योगमा दबाब परीक्षण गर्ने अभ्यास स्थापना गर्न चालिएको पहिलो पहल रहेको राष्ट्र बैंकको भनाई छ ।
यद्दपि, त्यसयता बैंकिङ क्षेत्र पुँजीको आकार, सम्पतिको आकार र शाखा सञ्जालको सन्दर्भमा तीव्ररुपमा विकसित भएका छन् ।
साथै, बैंकहरुले प्रदान गर्ने सेवा र प्रोडक्टहरु पनि धेरै हदसम्म परिवर्तन भएको र सूचना प्रविधिमा निर्भरता बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ । त्यसैगरी, विभिन्न साइबर आक्रमणले बैंक तथा वित्तीय संस्थालाई सूचना सुरक्षामा आफ्नो स्रोत परिचालन गर्न बाध्य बनाएको छ ।
यी सबै कारणहरुले गर्दा नयाँ निर्देशिका जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।निर्देशिकाले दुई तरिकाबाट दबाब परीक्षण गर्न आधार बनाउने राष्ट्र बैंकको भनाई छ ।
पहिलो बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा राष्ट्र बैंकले दबाब परीक्षण गर्नेछ ।
दोस्रो, प्रत्येक बैंक र वित्तीय संस्थाहरुले दबाब परीक्षणहरु सञ्चालन गर्न र राष्ट्र बैंकलाई रिपोर्ट गर्न आफ्नै दबाब परीक्षण मोडेल विकास गर्नुपर्छ ।
बासेल समितिले ‘दबाब परीक्षण सिद्धान्त, २०१८’ मा तोकेका सिद्धान्तहरु नेपाली बैंकिङ उद्योगका लागि पनि उत्तिकै सान्दर्भिक रहेकाले सोही सिद्धान्त स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०२३ मा अपनाइएको राष्ट्र बैंकले जानकारी गराएको छ ।
२४ असोज २०८०, बुधवार १३:२५ बजे प्रकाशित