दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
![image image](https://www.aarthiksanjal.com/wp-content/uploads/2024/12/IMG-1.jpg)
काठमाडौँ । सामाखुसी यातायात प्रा.लि.ले रु. १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । वि.सं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रा.लि.ले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।
प्रा.लि.का अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।
“काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,” उहाँले भन्नुभयो ।
सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ ।
काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिनुभयो । प्रा.लि.ले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।