भारतमा यी ब्रान्डले जनवरी १ देखि कारको मुल्य वृद्धि गर्दै
![image image](https://www.aarthiksanjal.com/wp-content/uploads/2024/12/mahindra-3x0-booking.jpg)
काठमाडौं । भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै लागु हुनेगरी कारको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । कम्पोनेन्टको मुल्य महंगो परेका कारण संचालन खर्च समेत बढ्न गएकाले मूल्य समायोजन गर्नुपरेको ती ब्रान्डको भनाई छ ।
हालसम्म भारतका चार ठूला अटो उत्पादक मारुती सुजुकी, हुन्डाई, टाटा र महिन्द्राले कारको मूल्य बढ्ने घोषणा गरिसकेका छन् भने बाँकीले पनि छिट्टै घोषणा गर्ने तयारी गरेको छ ।
मारुती सुजुकीले आफ्नो र एरेना र नेक्सा पोर्टफोलियोमा ४ प्रतिशतसम्म वृद्धि गर्ने बताएको छ । टाटाले पनि आफ्नो सम्पूर्ण लाइनअपमा ३ प्रतिशतसम्मले मुल्य बढाउने जनाएको छ । टाटाका अनुसार ईभीमा समेत मुल्य समायोजन गर्न लागिएको हो ।
यसैगरी, हुन्डाईले एसयूभीमा मात्र मुल्य वृद्धि गर्ने भएको छ । कम्पनीका अनुसार हुन्डाईका एसयुभी जनवरी १ देखि २५ हजार भारुसम्म महंगो पर्नेछ । कम्पनीले ह्याचब्याक र सेडान कारमा भने मूल्य नबढाउने बताएको छ ।
महिन्द्राले आफ्नो सम्पूर्ण लाइनअपमा मूल्य वृद्धि गर्ने घोषणा गरेको छ । जसअनुसार जवनरी १ देखि महिन्द्राका एसयुभी ३ प्रतिशतसम्मले महंगो हुनेछ । महिन्द्राले हालै लन्च गरेको दुई नयाँ ईभीको मूल्य समेत जनवरी महिना भित्रै सार्बजनिक हुने कम्पनी भनाई छ ।
एमजी मोटर इन्डियाले पनि आफ्नो सम्पूर्ण लाइनअपमा ३ प्रतिशतसम्म मूल्य बृद्धि हुने जनाएको छ । यसैगरी, निशानले २ प्रतिशतसम्म तथा बिएमडब्लु, अडि र मर्सिडिज बेन्जले पनि ३ प्रतिशतसम्मले मूल्य बृद्धि गर्ने घोषणा गरेका छन् ।
भारतीय बजारमा मुल्य बृद्धि भएपछि यसको सिधा असर नेपाली बजारमा समेत पर्नेछ । मुल्य बृद्धिका कारण भारतमा उत्पादन भई नेपाल भित्रिने मारुती सुजुकी, टाटा, हुन्डाई, महिन्द्रा, निसान र एमजीका कार नेपाल भित्रिँदा महंगो पर्नेछ ।