स्वदेशी कफीको खपत र निर्यात बढ्दै
काठमाडौँ । स्वदेशी कफीको खपत आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि स्वदेशी उत्पादनको निर्यात बढेको छ भने विदेशी उत्पादनको आयात पनि बढ्दै गएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा ११ करोड ७९ लाख ८५ हजार रुपियाँ बराबरको ६९.५ मेट्रिक टन निर्यात भएकामा १२ करोड ७६ लाख ९० हजार रुपियाँ बराबरको २७९.८ मेट्रिक टन कफी आयात भएको थियो ।
आव २०७७र७८ मा नेपालबाट नौ करोड ६० लाख तीन हजार रुपियाँ बराबरको ७२.४८ मेट्रिक मेट्रिक टन निर्यात भएको १० करोड ६७ लाख २१ हजार रुपियाँ बराबरको १९८ मेट्रिक टन कफी आयात भएको थियो ।
यस्तै आव २०७६/७७ मा पाँच करोड ७७ लाख २८ हजार रुपियाँ बराबरको ४६.८९ मेट्रिक टन निर्यात भएकामा ११ करोड आठ लाख ४९ हजार रुपियाँ बराबरको २६६ मेट्रिक टन कफी आयात भएको बोर्डले जनाएको छ । नेपालमा कफीको आयात निर्यात दुवै बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय बजारमा स्वदेशी कफीको माग बढेकाले निर्यात बढ्दै गएको जानकारी दिनुभयो ।
अन्य देशको तुलनामा स्वदेशी उत्पादन उच्च गुणस्तरको भएकाले माग बढेकाले बर्सेनि निर्यातमा वृद्धि भएको उहाँले बताउनुभयो ।
नेपाली उत्पादन कोरिया, जापान, अमेरिका, युरोपेली मुलुकलगायत देशमा निर्यात हुने गर्छ भने अस्ट्रेलिया, चीन, इथियोपिया, हङकङ, भारत, कोरिया, कतारलगायत देशबाट कफीको आयात हुने गर्छ ।
क्षेत्रफल बढे पनि उत्पादन बढेन
कफी खेती गर्ने क्षेत्रफल बढ्दै गए पनि उत्पादनमा भने त्यसअनुरूप बढेको छैन । बोर्डका अनुसार आव २०७५/७६ मा दुई हजार ७६१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएकामा आव २०७८/७९ मा बढेर तीन हजार ३४३ हेक्टर पुगेको छ ।
आव २०७५/७६ मा ५३० मेट्रिक टन कफी उत्पादन भएकामा आव २०७८/७९ मा घटेर ३५५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ ।
यस्तै आव २०७६/७७ मा दुई हजार ३६० हेक्टर क्षेत्रफलमा कफी खेती भएकामा आव २०७७/७८ मा खेती गरिएको जमिन बढेर तीन हजार ५२ हेक्टर पुगेको छ । आव २०७६/७७ मा २९७ मेट्रिक टन कफी उत्पादन भएकामा आव २०७७/७८ मा १३५ मेट्रिक टन उत्पादन भएको बोर्डको तथ्याङ्क छ ।
कफीको नयाँ मूल्य निर्धारण
बोर्डले मङ्सिर १ देखि लागू हुने गरी कफीको नयाँ मूल्य निर्धारण गरेको छ । नयाँ मूल्यअनुसार फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी ९५ रुपियाँ निर्धारण गरिएको छ ।
यस्तै ग्रेड ‘बी’ कफीको मूल्य प्रतिकेजी ८५ रुपियाँ, पार्चमिन्ट कफी ग्रेड ‘ए’को प्रतिकेजी ४७५ रुपियाँ निर्धारण गरिएको छ । पार्चमिन्ट ग्रेड ‘बी ’को ४२० रुपियाँ मूल्य निर्धारण गरिएको छ । यस्तै ड्राइ चेरी कफी ग्रेड ‘ए’को १७० रुपियाँ र ग्रेड ‘बी’को ११५ रुपियाँ मूल्य निर्धारण गरिएको विभागले जनाएको छ ।
यसैबीच १८औँ कफी दिवस विभिन्न कार्यक्रमका साथ शुक्रबार मनाइएको छ । प्रत्येक वर्ष मङ्सिर १ मा कफी दिवस मनाउँदै आएकामा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको आचारसंहिताले स्थगन भई शुक्रबार विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको हो ।
‘व्यावसायिक कफी खेतीमा जोड, गुणस्तरीय उत्पादनमा हाम्रो अठोट’ भन्ने मूल नाराका साथ कफी दिवस मनाइएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


























